निस्कृय कर्जा उठाउन सम्पत्ति व्यवस्थापन कम्पनी हैन, ब्याड बैंक चाहिन्छ

काठमाडौं, ३१ असार। नेपालको बैंकिङ्ग क्षेत्रमा नन् परफर्मिङ लोन (निष्कृय कर्जा) अत्याधिक बढ्दै गइरहेको छ । विगतमा बैंकहरूबाट फोर्सफुल लेण्डिङ्ग र ऋणीहरूबाट ओभर फाइनान्सिङको रकम दुरूपयोगको कारण उनीहरू अहिले डेब्ट ट्रयापमा परिसकेका छन् । कोरोना पछि ब्याज पुुँजीकृत गरेर र आर्थिक शिथिलता पछि दश प्रतिशत ब्याज लिएर कर्जा पुनर्तालिकीकरण गरेको कारण निष्कृय कर्जा पाँच प्रतिशतसम्म पुगिसकेको देखिन्छ । तर वास्तविकतामा समग्र बैंकिङ्ग क्षेत्रको नन् परफर्मिङ लोन पन्ध्र प्रतिशत् भन्दा बढि रहेको अनुमान गर्ने गरिएको छ ।

अधिकांश साना, मझौला उद्योग र केही ठुला उद्योगहरू कि त बन्द छन् कि त घिटिघिटी चलिरहेका छन् । बैंक तथा वित्तीय संस्था गैह्र बैंकिङ्ग सम्पत्ति, खराब कर्जा र निष्कृय कर्जाको बोझले थिचिंदै गएका छन् । समय छँदै उचित कदम नचाल्ने हो भने नेपालको बैकिङ्ग क्षेत्र समस्यामा पर्न सक्छन् । यस्तो विषम परिस्थितिमा अन्य देशमा प्रचलनमा रहेका सम्पत्ति व्यवस्थापन कम्पनी र सँगसँगै ब्याड बैंकको आवश्यकताको चर्चा चुलिँदै गइरहेको छ । प्रस्तुत छ, यसै विषयमा सम्पत्ति व्यवस्थापन र बिजनेस कन्सल्टेन्सी कम्पनी नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिका अध्यक्ष रमेश कुमार भट्टराईसँग गरिएको कुराकानी :

नेपाली अर्थतन्त्रको अवस्था कस्तो देख्नु हुन्छ ?

देशको बाह्य वित्तीय परिसुचकहरू रेमिट्यान्स, शोधनान्तर बचत, विदेशी मुद्रा संचिति, बैंक ब्याज दर, मुद्रास्फिति सकारात्मक छन् । आन्तरिक सुचकहरू जस्तै आयात, निर्यात, सरकारको राजस्व र खर्च, उद्योग व्यवसायको अवस्था, जनताको क्रय शक्ति, बजारमा नगद प्रवाहको अवस्था, नयाँ ऋण प्रवाह, कर्जा असुली र व्यवसायिक कन्फिडेन्स सबै नकारात्मक छन् । समग्रमा देशको अर्थ ब्यवस्था एकदमै नाजुक अवस्थामा छ ।

कसका कारण अर्थतन्त्र बिग्रिएको हो ? अहिले अर्थतन्त्रमा समस्या आउनुमा तपाई कसलाई दोषि देख्नुहुन्छ ?

अस्थिर सरकार र भ्रष्ट नेतृत्व, राजनैतिक प्रभावमा चल्ने केन्द्रिय बैंक तथा लोभि पापी व्यवसायी नै यो बिग्रेको अवस्थाको जिम्मेवार हुन् भन्दा फरक नपर्ला । उद्योग व्यवसाय चलेको छैन, ऋणको सावा व्याज उठेको छैन तैपनी बैंकहरूले अर्बौ अर्ब मुनाफा देखाइरहेका छन् । विरोधाभाषपूर्ण भएन र ?
कुर्सीमा टिकिरहनको लागि आफुलाई राम्रो देखाउने मानसिकता र प्रवृतिले वास्तविकता लुकाइएको छ ।

राजनैतिक नेतृत्व अर्थव्यवस्था राम्रो छ भन्छन्, केन्द्रिय बैंक दैनिक रुपमा बैंक तथा वित्तीय संस्थाहरूको दुराअवस्थाको लाइभ डाटा हेरेर पनि बैंक तथा वित्तीय संस्था विग्रिएको छैन भन्छ अनि बैंक प्रमुखहरु साँवाब्याज असुल नहुने कर्जामा ब्याज पूँजीकृत गरेर, थप कर्जा दिएर वा कागजात मिलाएर पुरानो कर्जालाई नयाँ बनाएर नाफा देखारहेका छन् । वास्तवमा बैंक तथा वित्तीय संस्थाहरू आन्तरिक रूपमा धेरै कमजोर भैसकेका छन् ।

बैंक तथा वित्तीय संस्थालाई वर्तमान संकटबाट निकाल्न सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको कुरा आइरहेको छ, यो भनेको के हो ?

बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा बढदै गइरहेको छ । उद्योगपति व्यवसायीले बैंक कर्जाको साँवा ब्याज नतिरिरहेको वा तिर्न नसक्ने अवस्था छ । बैंकले सिस्टम अनुसार कर्जा उठाउन घर जग्गा लिलाम गर्दा किन्ने ग्राहक कोही छैनन् । धितो घर जग्गा बैंकको नाममा सकार गर्दै जाँदा गैर बैकिंग सम्पत्ति बढदै गइरहेको छ । यो पनि बिक्री नहुँदा बैंकहरू विशेषज्ञ सेवा वा नयाँ कर्जा दिन इच्छुक छैनन् । यहि परिस्थितिको बिचमा निष्कृय कर्जा र गैर बैंकिंग सम्पत्ति उठाउनको लागि सम्पति व्यवस्थापन कम्पनी स्थापनाको चर्चा तीब्र रूपमा उठ्न थालेको पाइन्छ ।

सम्पत्ति व्यवस्थापन कम्पनीले के गर्छ ? यसले बैंकको निष्कृय कर्जा उठाउन कसरी सहयोग गर्छ ?

सम्पत्ति व्यवस्थापन कम्पनीले व्यक्ति वा संस्थाको सम्पत्ति जस्तै स्थिर सम्पत्ति, स्टक, शेयर, वण्ड, कमोडिटिज र अन्य वित्तीय प्रोडक्टहरूको संरक्षण, परिचालन र वृद्धिको लागि विशेषज्ञ सेवा प्रदान गर्ने गर्छ । अहिले बैंक वित्तीय संस्थाको डरलाग्दो तरिकाले वृद्धि हुँदै गएको निष्कृय कर्जा र गैर बैंकिङ सम्पत्ति उठाउन सहयोग गर्छ भन्ने सोचले आगामी मौद्रिक नीतिमा यो व्यवस्था ल्याउन आवाज उठिरहेको हो ।

सम्पत्ति व्यवस्थापन कम्पनी आउँदैमा बैंकहरूको निष्कृय कर्जा उठाउन सकिन्छ ?

नेपाल राष्ट्र बैंकका गभर्नरले केही दिनअघिको कार्यक्रममा सम्पत्ति व्यवस्थापन कम्पनी नेपालमा खोलिहाल्ने बेला नभएको बताउनुभएको थियो । उहाँले त्यस्तो कम्पनी खोले पनि यसलाई रियल स्टेट कम्पनी बनाउँछन् भनि शंका व्यक्त गर्नुभयो । साँच्चै भन्ने हो भने यहाँका बैंकरहरूले सम्पत्ति व्यवस्थापन कम्पनीको अवधारणा नै नबुझे जस्तो लाग्यो । सम्पत्ति व्यवस्थापन कम्पनीको काम बैंकहरूको खराब कर्जा उठाउने मात्र होइन । यसले गर्ने विभिन्न कामहरू मध्ये एउटा यो पनि हो । अरू विशेषज्ञ सेवा वा कामको आवश्यकता बुझेर चर्चा नगर्ने तर आफ्नो निष्कृय कर्जा उठाउनको लागि मात्र सम्पत्ति व्यवस्थापन कम्पनीको माग गर्नु नै गलत हो ।

अनि बैंक तथा वित्तीय संस्थाको समस्याको रूपमा रहेको निष्कृय कर्जा र गैर बैंकिङ्ग सम्पत्ति उठाउन के चाहि गर्न सकिन्छ त ?

बैंक तथा वित्तीय संस्थाको समस्याको रूपमा रहेको खराब कर्जा र निष्कृय कर्जा उठाउन वा व्यवस्थित गर्न ब्याड बैंकको कन्सेप्टमा जान सकिन्छ । भारतमा २०२१ मा बैंकहरूको निष्कृय कर्जा उठाउन वा ब्यवस्थित गर्न ब्याड बैंक स्थापनाको पहल भएको हो । नेशनल एसेट रिकन्स्ट्रक्सन कम्पनी र इन्डिया डेब्ट रिजोलुसन कम्पनी यहि उद्देश्यले सरकारी पहलमा खोलिएको थियो। नेपालमा पनि केन्द्रिय बैंकको पहलमा खोल्न सकिन्छ ।

यो ब्याड बैंकले निष्कृय कर्जा उठाउन कसरी मदत गर्दछ ?

यो ब्याड बैंक (एसेट रिकन्स्ट्रक्सन कम्पनी) ले बैंकहरूबाट समस्याको रूपमा रहेको निष्कृय कर्जा डिस्काउन्टमा खरिद गर्छ।यसरी खरिद गर्दा बैकं ऋण अन्तर्गतको धितो सम्पत्ति, कर्जाको बक्यौता, परियोजना संचालन हुने नहुने अवस्था, ऋणीको अवस्था सबै अध्ययन गरेर डिस्काउन्टमा खरिद गर्छ ।

त्यस पछि ब्याड बैंकले कर्जाको पुनर्संरचना गर्छ र ऋणिलाई विश्वासमा लिएर सञ्चालनको प्रयास गर्छ । संचालन नै नहुने अवस्थामा धितो सम्पत्ति र परियोजना बिक्रि गरेर भए पनि असुल गर्छ । यसरी निष्कृय कर्जा बैंकको वासलातबाट हटेपछि बैंक वित्तीय संस्थाको वित्तीय अवस्था राम्रो बनाउन मद्दत गर्छ । बैकंहरुले चाहेको पनि यहि हो ।

यसो हेर्दा बैंक वित्तीय संस्थाको पुरानो कर्जा असुली विभाग र ब्याड बैंकको काम उस्तै उस्तै देखिन्छ नि ?

२१ औ शताब्दीको बैंकहरू बिशेषज्ञ सेवामा जानुपर्ने समय भैसकेको छ । अब ब्रान्चलेस बैंकिङ्ग र डिजिटल बैंकिङ्गमा संसार अगाडी बढिसकेको छ । हाम्रा बैंकहरूले पनि अब लोन प्रोसेसिङ्ग र कर्जा असुली जस्ता बिभिन्न किसिमका परम्परागत कार्यहरूलाई आउटसोर्सिङ्ग गर्दै जानू पर्दछ । अहिले बैंकहरूको कर्जा असुली विभागले निष्कृय कर्जा र गैर बैंकिंङ्ग सम्पत्ति उठाउन सकिरहेको छैनन् । कर्जा दिनेले नै कर्जा उठाउन नसकेको अवस्थामा छुट्टै कम्पनी मार्फत गर्नु नै प्रभावकारी हुन्छ ।

बैंकहरूको निष्कृय कर्जा खरबौंमा छ । यस्तो स्थितिमा प्रस्तावित ब्याड बैंक खोल्न त धेरै ठूलो पूँजी चाहिन्छ । श्रोतको व्यवस्थापन कसरी हुन्छ ?

ऐसेट रिकन्स्ट्रक्सन कम्पनी वा ब्याड बैंक संचालन गर्न ठूलै पूँजी चाहिन्छ। निष्कृय कर्जाको बोझले नेपालमा कुनै बैंक रूग्ण हुनु भन्दा अगाडी नै आवश्यक व्यवस्था गर्नुपर्छ।आर्थिक विकासका लागी बैंकहरू मेरूदण्ड हुन् ।
यिनिहरुलाई बचाउनु र बलियो बनाउनु पर्छ।त्यसैले नेपाल राष्ट्र बैंक समेतको लगानीमा साना बैंक वित्तीय संस्थाकबाट न्युनतम १० करोड देखि ठुला बैकंहरुबाट बढिमा ५ अर्बको लगानीमा करिब करिब एक खर्ब चुक्ता पूँजीको यस्तो बैंक खोल्न सकिन्छ। बैंकहरूको चुक्ता पूँजीको आकार ठुलो भैसक्यो । निष्कृय कर्जा व्यवस्थापन गर्ने छुट्टै बैंक भएमा हालका बैंक तथा वित्तीय संस्थालाई विशेषज्ञ सेवा दिन र नयाँ कर्जा प्रवाह गर्न प्रेरित हुदाँ आम्दानी पनि स्वतः बढदै जाने देखिन्छ ।

कानुनी जटिलता र अदालतको हस्तक्षेपकारी नीतिको कारण कर्जा असुलीमा अहिले नै समस्या छ । यस्तो अवस्थामा ब्याड बैंकले कसरी निष्कृय कर्जा उठाउन सक्छ ?

हो, हामीकहाँ कर्जा असुलीको प्रभावकारी ऐन कानून नहुँदा त्यसको फाइदा गलत मनसायका ऋणीहरूले लिइरहेका छन् । अनि अदालतले पनि अनावश्यक आदेशहरू दिँदा बैंकको निष्कृय कर्जा उठ्न सकिरहेको छैन । त्यसैले पनि ब्याड बैंक वा एसेट रिकन्स्ट्रक्सन कम्पनी ल्याउनु आवस्यक छ । यस्को प्रभावकारि कार्यान्वयनको लागि यस हालको बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, ऋण असुली ऐन, आयकर ऐन, वित्तीय मध्यस्तता ऐन तथा सम्पत्ति सुरक्षा तथा पुनर्प्राप्ति ऐनहरू संशोधन गर्नुपर्छ। बैंकहरूबाट प्राप्त निष्कृय कर्जा तथा सो अन्तर्गतको परियोजना तथा धितो सम्पत्तिको सुरक्षित व्यवस्थापन गर्न यस्तो ब्याड बैंकलाई पूर्ण अधिकार दिइनु पर्छ । अनि मात्र सोचे जस्तो निष्कृय कर्जाको अहिलेको अवस्थामा सुधार ल्याउन सकिन्छ ।

नेपालमा अहिले सम्पत्ति व्यवस्थापन कम्पनीको सञ्चालनको अवस्था के छ ? नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले यस क्षेत्रमा के के गर्दै छ ?

व्यक्तिगत रूपमा केही विशेषज्ञहरू यस क्षेत्रमा कार्यरत छन् । तर संस्थागत रूपमा अनुभवि दक्ष व्यक्ति संलग्न सम्पत्ति व्यवस्थापन कम्पनी नै संचालनमा थिएन । अबको केही वर्षमा यस्तो कम्पनीको आवश्यकता पर्छ भनेर हामी केही पूर्व बैंक प्रमुखहरू मिलेर नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालि नामको सम्पत्ति व्यवस्थापन र बिजनेस कन्सल्टेन्सी कम्पनी स्थापना र सञ्चालन गरेका छौं। सञ्चालनको छोटो अवधि तीन महिनामा विदेशी लगानीकर्ता कोरियन इन्षेष्टमेन्ट ग्रुुप र नेपालका धेरै ब्यवसायिक घराना सँग मिलेर काम गर्दैछौं ।

सम्पत्ति व्यवस्थापन तर्फ नेक्सजेन म्यानेजमेन्टको अबको योजना र भविष्य के देख्नुभएको छ ?

सम्पत्ति व्यवस्थापन नेपालमा एकदमै नयाँ अवधारणा हो । यसले गति लिन अलि समय लिन्छ । त्यसैले अहिले हामी सो सम्बन्धी अवधारणा बिकास गर्न केही ब्यवसाय र बढि कर्पोरेट कन्सल्टेन्सीको काम गर्दैछौं। काम गर्दै जाँदा विश्वास बढ्दै जान्छ । त्यसपछि ब्यक्ति र संस्था दुबैले आफ्नो सम्पत्तिको व्यवस्थापन क्रमशः हामीलाई दिंदै जान्छन् ।

बैंकहरूसँग नजिक हुन हामीले लोन प्रोसेसिङ्ग र रिकभरी म्यानेजमेन्टको काम पनि गर्दैछौं । नेपाल राष्ट्र बैंकले यस सम्बन्धी बाटो नखोलेकोले संस्थागत रूपमा बैकंहरुले काम दिएका छैनन् । तर उनीहरूले ग्राहक पठाइरहेकोले काम गर्न सजिलो भएको छ । यसबाट बैंक र ऋणी दुबै खुसि छन्। अर्को तिर हामी छिट्टै साना तथा मझौला उद्यमीको लागि प्याकेजमा सेवा दिने गरि नयाँ प्रोडक्ट ल्याउँदैछौं। अबको पाँच बर्ष भित्र हामी यो क्षेत्रमा नेतृत्वदायी भुमिका खेल्न सक्षम हुनेछौं ।

Source: https://www.ktmvoice.com/news/70659.html/

प्रकाशित मितिः २०८१ असार ३१ सोमवार